२०८१ श्रावण १२

लैंगिक हिंसाको बारेमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

Gender Violence Awareness Program in Chame

चामे, २४ साउन / मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिका वडा नं. १ तिमाङमा विहिवार लैंगिक हिंसा बिरुद्धको जनचेतना जागरण कार्यक्रम सम्पन्न गरिएको छ । तिमाङ आमा समूहको अगुवाईमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

तिमाङ आमा समुहकी अध्यक्ष टिकनदेवी गुरुङको सभापतित्वमा आयोजित उक्त जनचेतना जागरण कार्यक्रम सीमा प्रहरी चौकी क्युपारले आयोजना गरेको प्रहरी नायब निरीक्षकप्रेम नारायण अधिकारीले जनाएका छन् । उक्त जनचेतना जागरण कार्यक्रममा खटिएको प्रहरीहरुद्धारा लैंगिक हिंसा बिरुद्ध नारा तथा जुलुश समेत गरिएको थियो ।

‘लैंगिक हिँसा र दुब्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा लैँगिक हिँसा बिरुद्धको अन्तक्र्रिया पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्र जंग गुरुङले स्थानीय सरकारले लैंगिक हिंसा निरुत्साहन गर्न चामे गाउँपालिकाको न्यायिक समितिले विशेष रुपमा काम गर्दै आईरहेको बताए ।

त्यसैगरी कार्यक्रमका बिशेष अतिथि १ नम्बर वडाका अध्यक्ष आषिश गुरुङ्गले यस्ता कार्यक्रममा आमा समूह र स्थानीय सुरक्षामा खटिएका प्रहरीहरुले नियन्त्रण गर्न सक्ने भएपनि स्थानीय बासिन्दाहरुको सहयोगको आवश्यकता औंल्याएका थिए ।

झण्डै ३० जनाको सहभागितामा कार्यक्रम सञ्चालन गरिएकोे प्रहरी नायब निरिक्षक प्रेमनारायण अधिकारीले जानकारी दिएका छन् । लैँगिक हिंसा बिरुद्धको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्क्ताहरुले यस्ता जनचेतना मुलक कार्यक्रमहरु बेलाबखतमा सञ्चालन गर्दै गर्नुपर्नेमा जोड दिए भने पोखरा सिक्लेस निस्कने पर्यटन पदमार्ग भएको तिमाङमा समेत प्रहरीद्वारा निगरानी हुन पर्ने धारणा राखेका थिए ।