२०८१ श्रावण १२

कामना अवार्डमा पनि मनाङका निर्माता/निर्देशकको चलचित्र १२ विधामा मनोनित

Damaruko Dandibiyo

काठमाडौं, ४ साउन / ‘सिजी कामना फिल्म अवार्डस् २०७६’ लागि उत्कृष्ट ५ मनोनयन चलचित्र सूचि सार्वजनिक हुँदा मनाङका निर्माता एवं निर्देशकको चलचित्र डमरुको डण्डीवियो विभिन्न १ दर्जन विधामा मनोनित बन्न सफल भएको छ । अवार्डका लागि विभिन्न २६ विधामा उत्कृष्ट ५ को मनोनयन सूचि सार्वजनिक गरिएको हो ।

कामना मासिकको सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको यो वर्षको कामना फिल्म अवार्ड २०७६ को सर्वोत्कृष्ट चलचित्र विधामा ‘छक्का पञ्जा ३, डमरुको डण्डीवियो, नाई नभन्नु ल ५, प्रसाद र साइली’बीच भिडन्त हुने भएको बताईएको छ ।

चलचित्र ‘डमरुको डण्डीवियो’ले विभिन्न १२ विधामा मनोनयन हुने अवसर पाएको छ । डमरुको डण्डीबियो सर्वोत्कृष्ट चलचित्र, नवनिर्देशक, अभिनेता, सहअभिनेता, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनी मिश्रण र श्रृंगार जस्ता विधाहरुमा मनोनयनमा पर्न सफल भएको सार्वजनिक गरिएको सूचिमा उल्लेख गरिएको छ ।

आयोजकका अनुसार २६ प्रतिस्पर्धात्मक विधामध्ये लोकप्रिय १४ विधामा दर्शकले एसएमएस मार्फत भोट समेत गर्न सक्नेछन् । सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नव–अभिनेता, नव–अभिनेत्री, नव–निर्देशक, सह–अभिनेता, सह–अभिनेत्री, खलपात्र, हास्यकलाकार, संगीतकार, पाश्र्वगायक र पाश्र्वगायिका विधामा दर्शकको एसएमएस भोटबाट १० प्रतिशत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा ९० प्रतिशत अंक जोडी विजेता घोषणा गरिनेछ ।