२०८१ श्रावण १२

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा म्यार्दी पुलको स्थलगत अवलोकन

धारापानी, १८ असार / गत असार ८ गतेको भिषण वर्षाबाट आएको बाढीले बगाएको मनाङलाई लम्जुङसँग जोड्ने म्यार्दी खोलाको पुलको पुननिर्माण कार्य हुदै गर्दा गण्डकी प्रदेशका मुख्यमन्त्रीले स्थलगत अवलोकन गरेका छन् ।

स्थलगत अवलोकन गरिसकेपछि मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले यो पुलको पुनर्निर्माण कार्य ३ साताभित्रै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन समेत दिएका छन् ।
भौतिक पुर्वाधारमन्त्री रामशरण बस्नेत, प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इश्वर मरहठ्ठासहित स्थलगत अवलोकन गर्न मुख्यमन्त्री गुरुङले अवलोकन पश्चात अस्थायी संरचना बनाएर तत्काल यातायात तथा ढुवानी सेवा सुचारु गर्नु पर्नेमा जोड दिएका थिए ।

अवलोकनका क्रममा मुख्य मन्त्री गुरुङले भनेका छन् ‘जनताले दुःख पाएको प्रदेश सरकार टुलुटुलु हेरेर बस्न सक्दैन, बेलीब्रिज पुल जडान गरेर तत्काल यातायात सुचारु गर्नु पर्छ । स्थायी पुल निर्माण गर्नका लागि संघीय सरकारसँग समन्वय गरेर अघि बढ्नु पर्छ ।

पुलको पिलर वरीपरी रेट्रोफिटिङ गर्ने र बेलिब्रिज राखिने निर्माण पक्षले जनाएको छ । प्राविधिक डिजाइन भइसकेको निर्माणाधिन यो पुल आगामी ३ साताभित्रै सञ्चालनमा आउने आशा गरिएको छ ।