२०८१ श्रावण १२

आन्तरिक पर्यटनका लागि मनाङ

Sonam Lama - Sete Kanchha

— सोनम लामा (सेतेकान्छा)

काठमाडौं, ११ असोज/ कोरोना भाईरसका कारण लाग्ने रोग कोविड–१९ को महामारी फैलिएर विश्वको आर्थिक र सामाजिक अवस्थामा निकै नै तनाब उत्पन्न भईरहेको छ । यसले जनस्तरमा आपसी सम्पर्क र भेटघाटलाई अत्यन्तै न्युन गराईदिएको छ । वस्तिका बासिन्दाहरु सडकमा हिडडुल गर्न नपाउँदा र आतिथ्यता सत्कारका खोलिएका व्यावसायिक प्रतिष्ठानहरु सञ्चालन गर्न नपाईदा हुने आवागमन सून्य जस्तै भएका अहिलेको अवस्थामा पर्यटन चहलपहल त कल्पना नै गर्न नसकिने अवस्था छ ।

कोविड १९ कै कारणले देशभित्र जारी गरिएको लक डाउन, निषेधाज्ञा र सर्वसाधारण खुल्ला रुपमा घुमफिर गर्न नपाउँदा पर्यटन व्यवसायीहरुमा समेत निकै नै निराशा छाएको छ । नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेर यसको सबै तयारी पूरा गरिसकेको र देशभर २० लाख पर्यटन विदेशबाट भित्र्याउने कल्पना पनि गरेको थियो । नेपाल भ्रमण वर्षको उद्घाटन समेत भईसको अवस्थामा विश्वब्यापी महामारीको रुपमा आएको कोविड १९ ले नेपाल भ्रमण वर्ष २०२० का सबै गतिविधिहरु स्थगित गर्न नेपाल सरकार बाध्य भयो । यहि अवस्थाका कारण नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरु निकै नै प्रभावित बन्न पुगे ।

यस्तै नेपालका पर्यटकीय गन्तव्यहरुमध्येको मनाङ गन्तव्यपनि यसबाट अछुतो रहन सकेन । जसका कारण विश्वकै सर्वोच्च स्थानका रहेको प्राकृतिक ताल तिलिचो र विश्वकै उत्कृष्ट पदमार्गमा पर्ने १० भञ्ज्याङहरुभित्र पर्ने थोरङ्ला पास रहेको जिल्ला मनाङले पर्यटक आवागमन गुमाउन बाध्य भयो । मनाङमा यतिबेला विदेशी पर्यटकहरु आउने क्रम रोकिएको छ । जसका कारण मनाङका पर्यटन व्यवसायीहरुको आर्थिक अवस्था थलिन पुगेको छ । यद्यपी पर्यटन व्यवसायीहरु अब आन्तरिक पर्यटकहरुको पर्खाईमा रहेका छन् । कोविड–१९ रोगको फैलने क्रममा सुधार आउन थालेपछि आन्तरिक पर्यटकहरु जिल्ला भित्र्याउने विषयमा मनाङका पर्यटन व्यवसायीहरु आशावादी देखिएका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गको धेरै भाग पर्ने मनाङ जिल्लामा विगत केहि वर्षयता आन्तरिक पर्यटकहरुको ओहोरदोहोर हुन थालेको कारण पनि मनाङका पर्यटन व्यवसायीहरु अब आन्तरिक पर्यटन विकास गरेर यो उद्योगलाई टिकाईराख्ने तयारी गरिरहेका छन् । आन्तरिक पर्यटकहरु बढीभन्दा बढी भित्र्याउन मनाङमा रहेका पर्यटकीय वस्तुहरुलाई स्वदेशभित्रै प्रचार गर्ने र स्वदेशी पर्यटकहरुलाई पनि विदेशी पर्यटकहरुलाई सरह आतिथ्यता सत्कार दिनु पर्ने मान्यता यतिबेला मनाङका पर्यटन व्यवसायीहरुले मनन् गर्न थालेको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन् ।

पर्यटन सिजनमा विदेशी पर्यटकहरुले खचाखच भरिने मनाङका होटलहरुमा कोविडका कारण नेपालमा विदेशी पर्यटकहरु आउन नसक्ने भए पनि आन्तरिक पर्यटकहरुलाई मनाङको बारेमा व्यापक जानकारी गराउन नसक्ने हो भने आन्तरिक पर्यटकहरुलाई पनि जिल्ला भित्र आकर्षित गर्न सक्ने सम्भावना समेत नरहेको पनि मनाङका पर्यटन व्यवसायीहरुको भनाई रहेको छ । मनाङभित्र आन्तरिक पर्यटकहरुलाई देखाउन सकिने थुप्रै सम्पदाहरु समेत रहेको स्थानीय बासिन्दाहरु दावी गर्छन् । जिल्लाको सांस्कृतिक र प्राकृतिक वस्तुहरुको प्रबद्र्धनमा जिल्लाका निजी क्षेत्रले अगाडि बढाउँदै आएका क्रियाकलापलाई सम्बद्ध सरकारी निकायहरुबाट पनि सहयोग पुग्नु जरुरी छ ।