२०८१ श्रावण १२

नेपाली कांग्रेस मनाङद्वारा प्रमूख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

gyapan-patra

चामे, २ असार / नेपाली कांग्रेस मनाङले प्रमूख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विशेष ज्ञापनपत्र पेश गरेको छ । कोरोना भाईरस संक्रमणको विश्वब्यापी महामारीप्रति सरकार गम्भिर नभएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउन नेपाली कांग्रेस मनाङले उक्त विशेष ज्ञापनपत्र प्रमूख जिल्ला अधिकारीलाई पेश गरेको हो ।
नेपाली कांग्रेस जिल्ला उपसभापति यज्ञप्रसाद घलेले जिल्ला प्रशासन कार्यालय मनाङका प्रशासन प्रमूखलाई भेटेर बुझाएको उक्त ज्ञापन पत्रमा भनिएको छ ‘कोभिड १९ को महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन् र दीर्घकालीन् नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा प्रमूख जिल्ला अधिकारीज्यू मार्फत नेपाल सरकारको ध्यान आकर्षण गर्न यो ज्ञापन पत्र पेश गरेका छौं ।’
नेपाललगायत पुरै विश्व अहिले कोरोना भाईरस (कोभिड १९) बाट प्रभावित र प्रताडित रहेको उल्लेख गर्दै सो विज्ञप्तिमा कोरोना विरुद्धको संघर्षका क्रममा सरकारले समयमै गम्भिरता नदेखाउदा यो महामारीको जोखिम अप्रत्याशित रुपमा तिब्र गतिमा बढ्दै गएको औंल्याईएको छ । त्यसैगरी लकडाउन भएको ८३ औं दिन पश्चात लकडाउन खुकुलो बनाएता पनि आमनागरिकहरुमा सन्त्रास बढ्दै जानु, स्वास्थ्य जनशक्ति र स्वास्थ्य सामाग्रीको अपर्याप्तता देखाएर पिसिआर परिक्षण सुस्त गतिमा गरिनु, मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरितका क्वारेन्टाईनहरु निर्माण गरी क्वारेन्टाईन नै संक्रमण बढाउने कारखाना बन्दै गएको समेत सरकारको ध्यानाकर्षण उक्त विज्ञप्तिमार्फत गराईएको छ ।
विपन्न नागरिक श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिकहरु खानाको अभावमा भोकका कारण मुत्युवरण गरिसकेकोको यो अवस्था भयावह हुने यथार्थता प्रति सरकार उदासिन र असंवेदनशिल रहनु, भारत लगायत विश्वका अन्य देशहरुमा अलपत्र परी आफ्नो मातृभूमि फर्कन चाहेका नागरिकहरुलाई उचित व्यवस्थापनका साथ स्वदेश फर्किने वातावरण बनाउन नसक्नु, दिनानुदिन धरासायी बन्दै गईरहेको कृषि, पर्यटन र उद्योग व्यवसायलाई पुनत्र्थानका लागि राहतको कुनै कार्यक्रम नल्याउनु, रोजगारी सिर्जनाको लागि खाशै योजना, नीति तथा कार्यक्रम नल्याईनु, श्रमिक, वेरोजगार, विद्यार्थी, अपांगता भएका व्यक्ति, एकल महिला र गर्भवतीहरुलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसक्नु जस्ता विषयहरु पनि उक्त विज्ञप्तिमा उठाइएको छ ।
त्यसैगरी एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरु र विद्यालय÷विश्वविद्यालयहरुमा अध्ययनरत लाखौंलाख विद्यार्थीहरुको भविष्य अन्यौलमा पर्दा पनि सरकार अनिर्णयको बन्दी बन्नु, देशको यस्तो विषम परिस्थितिमा पनि सरकार अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुब्नुले वर्तमान सरकार असक्षम र गैर जिम्मेवार बन्दै पूर्ण असफल भएको समेत उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।