मनाङमा हिम चितुवाको संख्या बढ्दो
चामे, ४ असार / विगत कही वर्ष यता मनाङमा हिम चितुवाको संख्या बढ्दो रुपमा पाईएको छ । लामो समयदेखि हिमाली क्षेत्रमा लोपोन्मूख बन्दै गएको हिमचितुवाको संख्या बढ्न थालेपछि यस क्षेत्रका अनुसन्धानकर्ताहरुले खुशी ब्यक्त गरेका छन् ।
हिमाली वन्य जन्तुको अध्ययन गर्दै आएका मनाङका स्नोमन्की मुखियाले जानकारी दिए अनुसार ५ वर्षको अगाडिको तुलनामा पछिल्लो समयमा हिम चितुवा दोब्बरको संख्यामा देखा परेका छन् । अहिलेसम्म झण्डै ३० देखि ३५ वटा जति हिम चितुवा देखा परेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनाङ शाखाको अनुमान रहेको छ । यो तथ्यांक पुष्टि भईनसके पनि मनाङका हिमक्षेत्रहरुमा यस्ता चितुवाहरुको संख्या बढ्दो रुपमा देखा परेको अध्ययनकर्ता मुखियाले बताएका छन् ।
ग्लोबल वार्मिङको प्रभावका कारण विश्व वातावरण संरक्षण क्षेत्रका विज्ञहरुले हिमाली वन्यजन्तुहरु लोपोन्मूख हुदै गएको चेतावनी दिईरहेको अहिलेको अवस्थामा मनाङमा हिम चितुवाको संख्या बढ्दो रुपमा देखा पर्नु सन्तोष जनक भएको अध्ययनकर्ता स्नोमन्की मुखियाले मनाङ अनलाईलाईनलाई बताए । उनले आफ्नै आँखाले देखिएका अधिकांश हिमचितुवाहरुको तस्बिर खिच्ने कार्यलाई जारी राखेका छन् । यसले मनाङमा हिमाली पर्यटकहरुको संख्या बढाउन मद्दत पुग्ने पनि उनको भनाई छ ।
तस्बिर : स्नोमन्की मुखिया, मनाङ
प्रतिक्रिया दिनुहोस्