२०८१ श्रावण १२

मनाङमा धमाधम यार्सागुम्बा संकलन

manag collect yarsagumba

चामे, ७ जेठ । यतिबेला मनाङका अधिकांश लेकहरुमा यार्सागुम्बा टिप्ने समय मध्य भएको छ । नारपूm गाउँपालिकाका लेकहरुबाहेक अधिकांश यार्सा पाईने लेकहरुमा यार्सा टिप्न खुल्ला गरिएपछि मनाङका बासिन्दासहित छिमेकी जिल्लाका यार्सा संकलकहरु लेकमा पुगेर धमाधम संकलन गरिरहेका छन् ।

अब केही लेकहरुमा मात्रै यार्सा संकलनका लागि पूर्जा वितरण गर्न बाँकी रहेको एक्याप इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ । एक्यापद्वारा गठित विभिन्न संरक्षण क्षेत्र व्यवस्थापन समितिहरुले अनुमति दिएका खर्कहरुमा यार्सा टिप्न डेन्डर आव्हान गरेपछि यार्सा संकलकहरुले प्राप्त गरेको अनुमितको आधारमा यार्सा संकलन गर्न पाउँने गरेका छन् ।

यस वर्ष विगत वर्षहरुमा भन्दा ढिलो गरी ३ साता अगाडिदेखि मात्रै यार्सा संकलनका लागि टेन्डर आव्हान गरिएको स्थानीय संरक्षण व्यवस्थापन समितिका अधिकारीहरुले बताएका छन् । एक्याप, इलाका संरक्षण कार्यालय मनाङले दिएको जानकारी अनुसार ताचैको घुजुम्रो लेकमा जेठ ८ गतेबाट खुला गरिँदैछ । नम्ग्याखर्कमा जाने यार्सागुम्बा सङ्कलकमध्ये स्थानीयलाई ३ हजार रुपैया, छिमेकी गाउँलाई ४ हजार ५ सय रुपैया र जिल्ला बाहिरकालाई १० हजार रुपियाँ पुर्जी काट्ने गरिएको बताइएकोे छ ।

मनाङमा विगतका वर्षहरुमा भन्दा यस वर्ष मौसम तथा हावापानीका कारणले बढी यार्सा पाईने अनुमान गरिएको छ । केही लेकहरुमा गतवर्षभन्दा ३ गुणा बढी यार्सा संकलकहरुले पूर्जि लिएको स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिका अधिकारीहरुले बताएका छन् । मनाङका करिब २२ वटा लेकमा यार्सागुम्बा पाइने अनुमान गरिएको छ ।

लेकअनुसार पुर्जीको मूल्य फरक–फरक रहेको र साबिकको गाविसस्थित संरक्षण समितिले यार्सागुम्बा सङ्कलनको जिम्मा लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवा जानकारी दिएका छन् ।