२०८१ श्रावण १२

शुरु भयो मनाङमा यार्सागुम्बाको सिजन

manag-yarsagumba

मनाङ, १८ बैशाख/ विगतका वर्षहरुमा जस्तै मनाङमा यस वर्षको यार्सागुम्बा टिप्ने सिजन शुरु भएको छ । मध्य बैशाखदेखि मनाङका खर्कहरुमा यार्सा टिप्न मनाङका स्थानीय र विभिन्न जिल्लाहरुबाट यार्सा संकलकहरु आउने गरेका छन् ।

सबैभन्दा राम्रो यार्सागुम्बा पाईने भएकोले शुरुमा नाम्के लेकमा यार्सागुम्बा संकलकहरुका लागि पहिलो पटक पुर्जी जारी गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र ब्यबस्थापन समितिले जनाएको छ । ताचै बगरछाप र नार गाउँमा पर्ने नम्के खर्कमा यार्सागुम्बा संकलनको लागी पुर्जी बैशाख १६ गतेबाट पुर्जी जारी गरी खुल्ला गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र ब्यबस्थापन समिति मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले बताए ।

पुर्जी काटेर नाम्के लेकमा यार्सागुम्बा टिप्नको लागि कतिपय संकलकहरु गन्तव्यतिर पुगीसकेको र कतिपय जाँदै गरेको उनले बताए । यस बर्षको पहिलो पटक यार्सागुम्बा संकलनको लागी पुर्जी खुल्ला गरिएको नाम्के लेकमा यार्सागुम्बा टिप्नको लागी रु. ३६ लाख २० हजार रुपैयामा ठेक्काको जिम्मा पाएको यार्सा संकलक मेघबहादुर विकले बताए । समुद्र सतहदेखि ४ हनार ३ सय मिटरको उचाईमा रहेको नाम्के लेक जिल्ला सदरमुकामबाट १३ किलोमिटर पैदल दुरी उत्तरमा रहेको छ भने त्यहाँ पुग्न यात्रुहरुहरुलाई एक पुरै एक दिन पैदल यात्रा गर्नु पर्ने संकलक विकले जानकारी दिएका छन् ।

विगतका वर्षहरुमा पनि बाहिरी जिल्ला गोरखाबाट आएका बैशाख १६ गतेका दिन नै पुर्जी काटी यार्सागुम्बा टिप्नको लागि तयारी अवस्थामा रहेका घ्याल्चोक ७ का मानबहदुर गुरुङले यस बर्ष फेरी पनि यार्सागुम्बा संकलनको लागि आएको मनाङ आईपुगेको बताए । उनीलगायत गाउँबाट अरु साथीहरु पनि आएको जानकारी दिए । गुरुङले भने ‘सबै आवश्यक सामान खरिद गरिसकेका छौं अब भोलि बिहानै यात्रामा निक्लने हो । यहाँ आएका सबै साथीहरुले पुर्जी लिई सकेका छौं ।’

यस वर्ष भारी हिउँ परेकोले अलि ढिला यार्सागुम्बा संकलनको लागि पुर्जी खुल्ला गरिएको उक्त यार्सागुम्बा संकलनका ठेक्का पाएका मेघबहादुर बिश्वकर्माले बताए । यस बर्ष नाम्के लेकमा यार्सा खोज्न जानेहरुका लागि विभिन्न दर भाउँ समेत लगाईएको उनले जानकारी दिए । ठेक्केदार विश्वकर्माका अनुसार लक्षित क्षेत्र रहेको स्थानका स्थानीयहरुलाई ३ हजार, जिल्ला भित्रका स्थानीयहरुलाई ४ हजार ५ सय र जिल्ला बाहिरका यार्सागुम्बा संकलकहरुलाई रु. १० हजारका दरले शुल्क कायम गरिएको छ । मनाङ जिल्लामा यार्सागुम्बा खोज्नको लागि जिल्लाभित्रबाट भन्दा पनि जिल्ला बाहिरका गोरखा, धादिङ, लम्जुङ लगायतका जिल्लाहरुबाट यार्सागुम्बा संकलकहरु आउने गरेका बिश्वकर्माको भनाई छ ।