२०८१ श्रावण १२

मनाङ परिवार दक्षिण कोरिया भिजिट नेपाल २०२० सफल पार्ने अभियानमा

Manang - Visit Nepal 2020

कोरिया, २८ फागुन / दक्षिण कोरियामा विभिन्न पेशा वा व्यवसाय गरेर बसोबास गर्दै आएका मनाङीहरुले नेपाल सरकारले मनाउन लागिरहेको ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रबद्र्धनका गतिविधि सञ्चालन गर्ने भएको छ । मनाङ परिवार दक्षिण कोरियाको आयोजनामा यस्तो गतिविधि सञ्चालन गर्न लागिएका हो ।

भिजिट नेपाल २०२० लाई लक्षित गर्दै मनाङ परिवार दक्षिण कोरियाले कोरियाको प्रसिद्ध पद मार्ग दोबोङ्सानमा हाइकिङ गरेर प्रबद्र्धन शुरु गरेको मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष जेबि. लामाले बताएका छन् । उनले भनेका छन् ‘भिजिट नेपाल २०२० भिजन लाई लक्षित गर्दै नेपालमा पर्यटन प्रवद्र्धन गर्ने र दक्षिण कोरियाका नागरिकलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले हामीले यहाँ हाइकिङ कार्यक्रम आयोजना गर्ने तयार गरिरहेका छौं । अप्रिल २१ तारिखका दिन दोबोङसान पदमार्गमा हाइकिङ गरिनेछ ।’

अध्यक्ष लामाका अनुसार कोरियाको प्रसिद्ध पद मार्गमा भ्रमणमा जादै गर्दा नेपाल र कोरियाको झन्डा प्रदर्शन गरिने छ भने नेपालको पर्यटनसम्बन्धी जानकारी दिइनुका साथै नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश दिइने कार्यक्रम रहेको छ ।

विशेषगरी दोबोङ्सान पदमार्गमा भ्रमण गर्नुको उद्देश्य नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गको चिनारी र हिमाल पारीको जिल्ला मनाङको मनमोहक दृश्य सङ्ग केन्द्रीकृत उनले बताए । हाइकिङ गर्न रुचाउने कोरियनहरु लागि नेपाल भित्राउने ठुलो अवसर सृजना हुन सक्ने मनाङ परिवार कोरियाको रहेको छ । उचित जनशक्ति, सुरक्षा, स्वास्थ तथा दोभाषेको समस्याले नेपालमा आशा अनुरुप पर्यटक नभित्रिएको अवस्थामा यस्ता कार्यक्रमले बिश्वस्नियता र सकारात्मक सन्देश प्रवाह गर्न सकिने अध्यक्ष लामाले बताए ।

लमजुङको बेँशीसहर हुँदै अन्नपूर्ण पदमार्ग तय गर्न, मनाङ जिल्लाको ताल–धारापानी–चामे, माथिल्लो मनाङको पिसाङ, घ्यारु, ङावोल र मनाङगाउँमा बास बस्दै जान सकिने विस्तृत जानकारी समेटिएका सामाग्रीहरु उक्त प्रबद्र्धनात्मक कार्यक्रममा प्रदर्शन गरिनेछन् । त्यसैगरी उक्त प्रबद्र्धनात्मक कार्यक्रममा मनाङमा पर्यटकलाई कुनैपनि असुविधा नहुने र सुविधा सम्पन्न होटलहरु रहेको जानकारी मूलक सामाग्रीहरु सहित उक्त प्रबद्र्धनात्मक कार्यक्रममा समावेश गरिने आयोजकले जनाकारी दिएको छ ।

त्यसैगरी पर्यटन प्रबद्र्धनात्मक कार्यक्रममा मनाङ घुम्न जाने पर्यटकहरुका लागि खान—बस्नको राम्रो सुविधा, पिउने पानी, व्यवस्थस्थित बाथरुम र २४ सैँ घण्टा तातो र चिसो पानीको व्यवस्थाका साथै हाइअल्टीच्यूड (लेक लाग्ने)का लागि प्राथमिक उपचारका सामान प्रत्येक होटलमा राखिएको जानकारीमूलक सन्देश प्रवाह गरिने गरी हाईकिङ्ग सञ्चालन गर्न लागिएको छ ।

विशेष गरेर पर्यटकहरुले मनाङ यात्रामा थोराङ पास, लार्के पास र काङ्ला पास, गङगापुर्ण तालका साथ साथै विश्वकै अग्लो स्थानमा रहेको तिलीचो तालको अवलोकन गरी स्वर्गको अनुभुती लिन सक्ने उत्साह पैदा हुने प्रचार सामाग्रीहरु पनि कोरियामा नेपालको पर्यटन प्रबद्र्धन हुने कार्यक्रममा समावेश गरिनेछ भने यस क्षेत्रमा पर्ने अग्लाअग्ला हिमश्रृङ्खला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत जूलू पीक, पिसाङ पिक, निलगिरी र तिलिचो पिकजस्ता हिमाललाई नजिकैबाट नियाल्ने सकिने जानकारी गराईने छ ।

अन्नपूर्ण पद मार्गबाट जोडिने मनास्लु पदमार्गमा पर्ने मनास्लु हिमाल, हिम्लोङ हिमाल र पोन्कर तालको मनमोहक दृश्यले पर्यटकलाई अचम्मित तुल्याउन सक्ने प्रस्तुति उक्त पर्यटन प्रबद्र्धनात्मक कार्यक्रममा बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकलाई जोड दिने उद्देश्यले कला संस्कृति, रीतिरिवाज, भेषभूषाको प्रदर्शनी कक्ष बनाई प्रदर्शन गरिएको पनि हेर्न सकिने छ । सूचना सञ्चारको विकासलाई ध्यान दिई मनाङको पर्यटन प्रवद्र्धनका लागि देश तथा विदेशमा प्रचारप्रसारमा नेपालीहरु एकजुट भइरहेका बेला समृद्ध देश बिकासमा टेवा पुरयाउन कोरियन पर्यटकलाई नेपाल भित्र्याउने प्रयासका लागि आम कोरियाबासी नेपालीहरुलाई उपस्थित भै कार्यक्रम सफल पार्न आयोजक सस्था मनाङ परिवारले अनुरोध गरेको छ ।