२०८१ जेष्ठ ४

मनाङ झल्काउने सांगीतिक कृतिले युट्युबमा भ्युअर बढाउँदै

Himalpari Swarga Manang Maa

चामे, ७ फाल्गुण / मनाङका प्रतिभाहरुको बजारमा आएर पनि धेरै चर्चा पाउन नसकेको सांगीतिक प्रस्तुति ‘हिमालपारी स्वर्ग मनाङमा’ बोलको म्युजिक भिडियोले युट्युबमा १४ हजारभन्दा बढी भ्युअर संख्या कटाएको छ ।

विश्वको १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङका बासिन्दाहरुले जिल्लालाई चर्चामा ल्याउन विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आईरहेका छन् । मनाङ जिल्ला प्रबद्र्धन गर्न मनाङका जागरुक समाजसेवी प्रतिभाहरुले यसै दशकको शुरुमा आयोजना गरेको ‘डेस्टिनेशन मनाङ २०१०’ को अवसर पारेर सार्वजनिक गरेको उक्त गीत सामाजिक सोसियल मिडिया युट्युबमा निकै पछि मात्रै समावेश गरिएको भए पनि छिट्टै यो गीतले लोकप्रियता प्राप्त गरेको छ ।

मनाङ जिल्लाको जानकारी खोज्ने अवलोकनकर्ताहरुले युट्युटबमा सर्च गर्दा यो गीत पनि फेला पर्न थालेपछि यसले युट्युटमा दर्शकहरु पाउन थालेको हो । माथिल्लो मनाङका गायकहरुको स्वरमा रहेको यो गीतलाई डिका गुरुङ, दावा गुरुङ, सोनाम गुरुङ, राजु गुरुङ, नोर्बु गुरुङ र विनोद गुरुङले गाएका छन् । गीतको शब्द सञ्जीव थापाको रहेको छ भने संगीत हरि लम्सालले दिएका छन् ।

मनाङ जिल्लालाई चिनाउने उद्देश्यले निर्माण गरिएको उक्त म्युजिक भिडियोको छांयाकन र निर्देशन मोहनबहादुर शाहले गरेका छन् भने यसको सम्पादन सागर लामा तामाङको रहेको छ ।