२०८१ माघ ६

परराष्ट्रमन्त्री राणा र लक्जमबर्गका विदेशमन्त्रीबीच भेटवार्ता ।

काठमाण्डौँ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मंगलबार लक्जमबर्गमा भेटवार्ता भएको छ ।
लक्जमबर्ग सिटीस्थित् बेटेलको कार्याकक्षमा भएको भेटवार्तामा नेपाल लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको थियो ।
भेटवार्ताका अवसरमा नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्गबीचको आर्थिक सहकार्यका बारेमा विचार आदानप्रदान गरेको थियो । साथै सो वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको थियो ।
नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री डा देउवाले सो भेटका क्रममा जानकारी गराएका थिए । मन्त्री डा देउवाले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गरेका थिए ।
मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिकलगायत क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह
भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुंग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि गराए । साथै नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र मानवअधिकार आयोगको सदस्यमा उम्मेदवारी दिन लागेकाले त्यसका लागि सहयोग गर्न लक्जमबर्गलाई आग्रह गरेका थिए ।
नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।