२०८३ आश्विन २२

असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला, तेकिएभन्दा बढी भाडा लिने स्वारीसाधनलाई सख्त कारवाही हुने ।

काठमाण्डौँ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा लिएको पाइएमा सख्त कारवाही हुने चेतावनी दिएको छ ।
सरकारले तोेकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए । सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।
यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबिच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
महासंघले सात प्रदेश, जिल्ला समिति तथा सदस्य संघ–संस्था र काठमाण्डौँको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन समेत दिएको छ ।


महासंघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनु पर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ ।
दसैँको भीडलाई व्यवस्थापन गर्दै यही असोज २५ गते घटस्थापनादेखि आगामी कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाण्डौँ सडकखण्डमा ट्रेलर लगायत ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइने छ । प्रचलित कानुन अनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने कुनै रोक लाग्ने छैन ।
त्यसैगरी, घटस्थापनादेखि आगामी कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि नेपालभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ । सडकको विशेष प्रकृतिका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासंघले जनाएको छ ।
काठमाडौँ उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणको लागि यातायात व्यवस्था विभागले ‘फोकल पर्सन’सहितको टोली परिचालन गर्नेछ । महासंघका तर्फबाट गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा जिम्मेवारी तोकिएको छ ।

यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाई गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था गरेको छ ।