२०८१ मंसिर २९

नेपाल सम्वत् ११४५ सुरु, म्ह पुजा ।

काठमाण्डौँ, आज नेपाल सम्वत् ११४५ विविध कार्यक्रम गरी मनाइदै छ ।
नेपालमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो । नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाः हुन् । उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो । भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.सं. ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि सुरुवात भएको थियो । नेपालमा औपचारिक रूपले यो सम्वत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो। अहिले ११४५ हो।
शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको किंवदन्ती छ । अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई ’यसले अनैतिक व्यापार गरेको छ’ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै ’तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ’ भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सम्वत् चलेको भनाइ छ ।
’नेपाल सम्वत’लाई सन् २००७ मा बिपी कोइरालाको मन्त्रीपरिषदबाट नेपालको राष्ट्रिय सम्वत्का रूपमा घोषित गरिएको हो । नेपाल सम्वत् औपचारिक कामकाजमा प्रयोग गरिँदैन । नेवार समुदायमा चाड पर्व, रीतिथिति लगायत जन्म दिन जस्ता धार्मिक सांस्कृतिक कार्यमा नेपाल सम्वत्को चन्द्रमासिक गणनाको प्रचलन रहेको छ । नेपाल सम्वत् ११४० दिल्ला २६, २०७७ साउन १ गते देखि लागु हुने गरी ललितपुर महानगरपालिकाले न्यायिक मामिलाहरूमा बाहेक अरु सबै पत्राचार लगायतका कामकाजमा बिक्रम सम्वत्सँगै नेपाल सम्वत् पनि अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय लिएका छन् । यसका साथ साथै नेवार समुदायले आफ्नो खलक पुचः गुठी लगायतका क्षेत्रहरूमा पनि नेपाल सम्वत्को प्रयोग गर्दै आएका छन् ।


चन्द्रमानक नेपाल सम्वत् नेसं १, इसं ८७९ अक्टोबर २०, कार्तिक शुक्ल प्रतिपदाका दिन देखि सुरु भएको हो । चन्द्रमानक नेपाल सम्वत्को नयाँ वर्ष म्ह पूजा पर्वबाट सुरु हुन्छ । यो दिन भिंतुना र्यालि पनि आयोजना हुने गर्दछ । चन्द्रमानक नेपाल सम्वत्मा प्रत्येक वर्ष ३५४ देखि ३७८ दिनहरू हुन सक्छ । एक औंशी देखि अर्को औंशी सम्मको समयावधिलाई एक महिना मानिन्छ ।

म्ह पुजा
म्ह पुजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । म्ह पुजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ ।

म्ह पुजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ ।
पुजाको अर्थ र महत्त्व
नेवारी भाषामा म्हः भनेको शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको पाइन्छ ।

किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।