२०८१ मंसिर २९

‘कही नभएको जात्रा हाँडीगाउँकोे’ सुरु ।

काठमाण्डौँ, ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोल टोलमा रथ (खट) घुमाइने हाँडीगाउँको जात्रा सुरु भएको छ ।
बडादसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा विशेष रूपमा यो जत्रा मनाइँदै आएको छ । हाँडीगाउँको जात्राले छुट्टै मौलिकता र विशेष पहिचान बोकेको छ ।
विश्वकर्माले बनाएका यी त्रिदेवको मुर्ती एकै पटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहेकोछ । कोजाग्रत पूर्णिमाको दिन मूर्तिहरू बाहिर निकालेपछि औपचारिक रूपमा जात्रा सुरु हुन ेगर्दछ ।
टङ्गाल गहनापोखरी आसपासको हाँडीगाउँको माथिल्लो टोल ठटाल टोलबाट ब्रह्माको रथ र बिच भागको डठु (न्याल्म) टोलबाट विष्णु (नारायण) को रथ तानेर तल्लो टोल कोटाल टोलमा बनाइने महेश्वर (लक्ष्मी) को रथ रहेको ठाउँमा ल्याएपछि हाँडीगाउँको जात्रा सुरु हुनेगर्दछ ।


जात्राका दिन दर्शन र पूजाका लागि तीन वटै रथ तीन वटा भिन्न चोकमा राख्ने र घर घरबाट आएर पूजा गर्ने चलन छ । हाँडीगाउँको जात्रा अन्यत्र जस्तो नहुनुमा चार वटा कारण रहेको जात्राका पूर्वपूजारी कृष्णमोहन अमात्यले बताए । उनका अनुसार अरू देवता मन्दिरमा राखिन्छन् र भक्तजनले निहुरिएर ढोग्ने र पुज्ने हुन्छ । यसमा रथको करिब २५ फिट उचाइमा राखिन्छ । अरू देवताको रथ बोकेर लगिन्छ तर यो खट सिलिङको पङ्खा जस्तो फनफनी घुमाउँदै टोल परिक्रमा गराइन्छ ।
देवता राखिएको अग्लो घुम्ने गोलो भाग भङ्गी वरिपरि मैनको फूल (पानीमा पकाएर थासामा चोबेर एक साताअघि बनाइने) राखिन्छ जुन अन्यत्र कुनै खटमा हुँदैन । अमात्यले भन्नुभयो, “कहीँ नभएको जात्रा भन्नुको चौथो कारण जात्रा नै उल्टो हुन्छ जहाँ मन्दिरमा गजुर माथि र मूर्ति तल हुन्छ । यहाँ गजुर तल मूर्ति सबैभन्दा माथि राखेर परिक्रमा गराइन्छ ।

यो रथ भङ्गी बेत र बाँसको मान्द्रा (चित्रा) ले बेरेर बनाइएको हुन्छ । तीन दिनसम्म मनाउने जात्रामा निकालिएका तीन वटा रथलाई नगर परिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ । रथ सजाउन प्रयोग भएको मैनको बास्नादार फूल रथको गजुर घुमाउँदा खस्ने हुँदा फूल टिप्नेको भिड हुने गर्छ । यो फूललाई प्रसूति पीडामा रहेकी महिलालाई सुँघाउँदा पीडा कम हुने जनविश्वास छ । सत्यनारायणलाई खुसी पार्न मनाइने भएकाले स्थानीयहरू यसलाई ‘सत्यनाराणको जात्रा’ का रूपमा मनाउँछन् । अरूको तुलनामा सबै कुरा उल्टो भएकाले यस जात्रालाई कहीँ नभएको जात्राका रूपमा चिन्ने गरेको स्थानीय बाबुराम महर्जनले बताए ।