२०८३ बैशाख २८

आजदेखि संसदको बर्खे अधिवेशन शुरु, सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने ।

काठमाडौँ, संघीय संसद्को बजेट (बर्खे) अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो । सोमबार अपराह्न्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन सुरु हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम पेसका लागि संयुक्त सदनको बैठकसमेत बस्ने छ ।
विगतका वर्षभन्दा केही ढिला गरी अधिवेशन आह्वान भएकाले कार्यतालिकाको दबाबसमेत संसदलाई परेको छ । सघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले “अधिवेशनको प्रारम्भ र संयुक्त बैठकको समेत तयारी सचिवालयले गरिसकेको छ । विगतभन्दा केही ढिला अधिवेशन प्रारम्भ हुँदा हामीलाई कार्यतालिकामा भने दबाब छ ।”
आजको संघीय संसद्को संयुक्त बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति कार्यक्रम पेस गर्नुहुने छ । संसद् सचिवालयले नीति तथा कार्यक्रम पेसका लागि अपराह्न ४ः०० बजे संयुक्त बैठकको सूचना सदस्यलाई दिइसकेको छ । दिउँसो ३ः४५ बजे बैठक कक्षमा प्रवेश गरिसक्न सचिवालयले सदस्यलाई सूचित गरिसकेको छ । संसद्को अधिवेशन प्रारम्भकै दिन सरकारको नीति तथा कार्यक्रम पेस गर्न लागिएको हो ।
सचिवालयले तय गरेको कार्यतालिका अनुसार नीति तथा कार्यक्रममा वैशाख ३० गते छलफल तथा पारितको कार्यसूची रहेको छ । ३० गते नै कार्यक्रमको छलफल, संशोधन, जवाफ र पारितको कार्यसूची छ ।
अधिवेशनमा संवैधानिक दायित्व अनुसार जेठ १५ गते सरकारका तर्फबाट वार्षिक बजेट पेस हुने छ । असार मसान्तसम्म बजेट पारित र प्रमाणीकरणको प्रक्रिया पूरा गर्नुपर्ने छ । यस्तै सरकारका तर्फबाट वार्षिक नीति तथा कार्यक्रम पनि बजेट अधिवेशनमा पेस र स्वीकृत हुने छ । वैशाख २८ गते नीति तथा कार्यक्रम सघीय संसद्को संयुक्त बैठकमा पेस हुने छ । यस्तै बजेटभन्दा पहिले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) संसदमा पेस भई छलफल हुने छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को नियम १४५(४) अनुसार संसद्मा बजेट प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिनअघि प्रि (पूर्व) बजेट छलफल सम्पन्न गर्नुपर्ने व्यवस्था छ तर संसद्ले यो पटक आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थामा टेकेर अर्थ मन्त्रालयमा बजेटमा सुझाव पठाउन पाउने एक साता पहिलेको समयसीमामा आधारित भई प्रिबजेट छलफल जेठमा गराउन लागेको छ । प्रतिनिधि सभाको स्वीकृत कार्यतालिका अनुसार वैशाख ३१ गते प्रिबजेट संसद्मा पेस गरी जेठ ४, ५ र ६ गते छलफल र पारितको सम्पूर्ण प्रक्रिया पूरा हुने छ ।
यस्तै यसबिचमा संसद् अधिवेशन नरहेका बेला सरकारको सिफारिसमा विभिन्न मितिमा राष्ट्रपतिद्वारा जारी भएका आठ वटा अध्यादेश पनि सोमबार नै संसद्का दुवै सदनमा पेस हुने छन् । बजेट अधिवेशनले नै अध्यादेश स्वीकृत र प्रतिस्थापनको प्रक्रिया पूरा गर्नुपर्ने दायित्व छ । संवैधानिक व्यवस्था अनुसार अध्यादेश संसद्मा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित र प्रमाणीकरणको प्रक्रियासमेत पूरा गर्नुपर्ने छ ।