२०८१ चैत्र १३

देशभरका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित बर्षा ।

काठमाण्डौँ, देशभरका अधिकांश स्थानहरूमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
राति, देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
साथै, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सर्वाधिक बिराटनगरमा ६१.४, धनकुट्टामा ३८.१ र दिपायलमा ३६.८ मिलिलिटर बर्षा मापन भएको विभागले जनाएको छ ।