२०८१ आश्विन २०

आजदेखि मनकामना केबलकार ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने ।

मुग्लिन, आजदेखि मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आउने भएको छ । नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको हो । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।