२०८१ माघ ६

द्वन्दग्रस्त गाजामा पाँच लाख ६० हजार बालबालिकालाई खोप लगाइयो  : राष्ट्रसंघ

काठमाण्डौँ, संयुक्त राष्ट्रसंघले द्वन्दग्रस्त गाजापट्टीका १० वर्षमुनिका पाँच लाख ६० हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइएको जनाएको छ ।
गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा आपत्कालीन खोप अभियानको पहिलो चरण बिहीबार समाप्त राष्ट्रसंघीय कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार, उत्तरी गाजामा पहिलो चरणमा राष्ट्रसंघ तथा यसका साझेदारबाट एक लाख १२ हजारभन्दा बढी बालबालिकामा खोप लगाइएको छ । साझेदारले करिब चार हप्तामा खोप अभियानको दोस्रो चरण सुरु गर्ने तयारी गरेको कार्यालयले जनाएको छ ।
मानवतावादीले डब्ल्यूएचओको नयाँ विश्लेषणलाई उद्धृत गर्दै जुलाई २३ सम्म गाजामा घाइते भएका २२ हजार ५ सय मानिसलाई गम्भीर चोटपटक लागेको अनुमान गरेका छन् । उनीहरूलाई पुनर्वास सेवा आवश्यक पर्ने पनि जनाएको छ ।
गाजामा स्वास्थ्य प्रणालीको विनाशबीच ३६ मध्ये केवल १७ अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।सीमित अस्पतालमा पनि आक्रमण, असुरक्षा र बारम्बार निकासी आदेशका कारण प्राथमिक स्वास्थ्यलगायत सेवा समेत पहुँचयोग्य छैन ।
वेस्ट बैंकको तुलकार्म र टुबासमा इजरायली सेनाले गरेको पछिल्लो अपरेसनबाट प्रभावित मानिसको आवश्यकता मूल्यांकन गर्न मानवीय साझेदारलाई परिचालन गरिएको कार्यालयले जनाएको छ । त्यहाँ १२ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।
वेस्ट बैंक क्षेत्रमा घातक युद्ध र रणनीतिको प्रयोगले कानुनी मापदण्ड नाघेकाले यसबारे चिन्ता बढेको उक्त कार्यालयले जनाएको छ । सिन्ह्वा