दसैँका लागि हवाई टिकट बुकिङ सुरु, बसको असोज पहिलो हप्तादेखि ।

काठमाण्डौँ, दसैँका लागि यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भएका छन् । दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका छन् ।
वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ । सघका प्रवक्ता मुरारीधर जोशीले दसैँलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको बताउनुभयो ।
दसैँमा सहरबाट गाउँ र विदेशबाट स्वदेश फर्किन यात्रुले आफ्नो गन्तव्यको टिकट लिन सुरु गरिसकेका छन् । सुगमतर्फका गन्तव्यमा उडान चाप समान्य रहे पनि आन्तरिक उडानको महत्वपूर्ण रुट मानिने तुम्लिङटार र सुर्खेतलगायतका गन्तव्यमा हवाई टिकट लिने यात्रुको सख्या बढिरहेको छ ।
अहिले मौज्दात जहाजको र उडान सङ्ख्याका आधारमा दसैँलक्षित कुनै पनि गन्तव्यमा थप उडान गर्नेबारे हवाई कम्पनीबिच छलफल नभएको उनले बताए । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ६० प्रतिशतसम्म बुकिङ भइसकेको र अहिलेलाई घटस्थापना र फूलपाती आसपासका टिकटमा यात्रुको चाप देखिएको बताए । श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले अहिले ८० प्रतिशत जहाज भरिभराउ भएर उडान गरिरहेको र दसैँलक्षित बुकिङसमेत सुरु भएको बताए ।
यसैगरी दसैँतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ ।
दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ । यस पटक पनि समयमै खुला गरी सहज र सुरक्षित यात्रा गराइने महासंघका महासचिव सरोज सिटौलाले बताए ।
प्रतिक्रिया दिनुहोस्