प्रमुख जिल्ला अधिकारी सरुवा, काठमाण्डौँका प्रजिअ जयनारायण आचार्य ।
काठमाण्डौँ, गृह मन्त्रालयले काठमाण्डौँ सहित केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।
काठमाण्डौँका प्रजिअ जितेन्द्र बस्नेतलाई गृहमन्त्रालयमा तानेर उनको सट्टा जयनारायण आचार्यलाई पठाइएको छ । यसअघि आचार्य कारागार व्यवस्था विभागको महानिर्देशक थिए । यसैगरी सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाएर पठाइएको छ ।
यसअघि थापा अध्यागमन कार्यालय भैरहवाको प्रमुख अध्यागमन अधिकृत थिए भने शर्मा र आचार्य गृह मन्त्रालयमै थिए ।
उपसचिव सुवेदीलाई प्युठानको प्रजिअ बनाएर पठाएपछि प्युठानका प्रजिअ नारायण प्रसाद अर्याल मन्त्रालयमा तानिएको छ ।
गृह मन्त्रालयले अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको रुपमा बाबुलाल अर्याललाई पठाएको छ । अर्याल इलाका प्रशासन कार्यालय चन्द्रौटामा कार्यरत थिए । अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा पठाइएको छ । तीन सातादेखि सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँची प्रजिअ विहीन थिए ।
यसैगरी अतिरिक्त समूहमा रहेका सहसचिव टोकराज पाण्डेलाई गृह मन्त्रालयमै सरुवा गरिएको छ । तर उनको जिम्मेवारी तोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्