२०८१ आश्विन २

अमेरीकाद्वारा  रुसी निकायमाथि अमेरिकी प्रतिबन्ध, राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गर्न खोजेको आरोप ।

 

काठमाण्डौँ, आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको भन्दै संयुक्त राज्य अमेरिकाले रुसका १० व्यक्ति र दुई संस्थामाथि प्रतिबन्ध लगाएको छ ।
अर्थ मन्त्रालयअन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी)ले बुधबार रुसी १० व्यक्ति र दुई संस्थालाई अमेरिकी राष्ट्रपति चुनावलाई लक्षित गर्ने मस्कोको दुर्भावनापूर्ण प्रयास गरेकोमा अमेरिकी सरकारले प्रतिबन्ध लगाएको अर्थ मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।
महान्यायाधिवक्ता मेरिक गारल्यान्डले रुस समर्थित सञ्चारमाध्यम ‘आरटी’का दुई कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरण र विदेशी एजेन्ट दर्ता ऐन उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ ।
अमेरिकाले रुस सञ्चालित निकायहरूले लामो समयदेखि जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत अन्य उपकरणको प्रयोगबाट संयुक्त राज्य अमेरिकाको निर्वाचन प्रक्रिया र संस्थामा रहेको जनविश्वासलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।
सन् २०२४ को प्रारम्भबाट रुसद्वारा वित्तपोषित समाचारमाध्यम आरटी अधिकारीहरूले दुर्भावनापूर्ण प्रभाव फैलाउने अभियानका लागि अन्जान अमेरिकी प्रभावकर्ताहरूलाई गोप्य रूपमा प्रयोग गर्दै आएका अमेरीकि अर्थ मन्त्रालयले भनेको छ ।
अमेरिकी अर्थमन्त्री जेनेट येलेनले बाइडेन प्रशासनले रुसको यस्ता गतिविधिहरूका लागि राज्य प्रायोजित निकायलाई जवाफदेही बनाउने प्रयास गरिरहेकोमा जोड दिए ।
विदेश मन्त्रालयले अमेरिकाविरुद्ध गोप्य गतिविधिका लागि आवरणका रूपमा प्रयोग गर्ने क्रेमलिन–समर्थित सञ्चार संगठनका लागि काम गर्ने व्यक्तिमाथि लगाइएको प्रतिबन्ध नीतिसहित तीन सम्बन्धित कार्यहरू पनि घोषणा गरेको छ ।
विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले बताएअनुसार यसले अमेरिकामा सञ्चालनमा रहेका छवटा आरटी सम्बद्धलाई ‘विदेशी मिसन’का रूपमा दर्ता गरिएको छ । साथै, अमेरिकी चुनावमा हस्तक्षेप गर्ने सम्भावित विदेशी प्रयासका बारेमा जानकारी दिनेलाई एक करोड डलरसम्मको पुरस्कार दिने प्रस्ताव गरेको छ ।