६ हजार ८ सय ३१ जनामा डेंगी संक्रमण पुष्टि, चारजनाको मृत्यु ः स्वास्थ्यमन्त्री पौडेल

काठमाण्डौँ, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चालु बर्षको हालसम्म ६ हजार ८ सय ३१ जनामा डेंगी संक्रमण पुष्टि भएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्यमन्त्री पौडेललेले डेंगीका कारण चारजनाको मृत्यु भएको समेत जानकारी गराए । डेंगी नियन्त्रणका निम्ति मन्त्रालयले सबै तहसँग मिलेर काम गरिरहेको उनले उल्लेख गरे ।
चालु बर्षको हालसम्मको अवधिमा देशभर ७८ जनामा हैजाको संक्रमण पुष्टि भएको उनले बताए । बाँकेको नरैनापुरमा चारजनाको मृत्यु भएको विषयमा झाडापखालाको कारण हो होइन पत्ता लगाउने प्रयास भइरहेको जानकारी गराए ।
त्यसैगरी, इन्सेफ्लाइटिसका कारण तीनजनाको मृत्यु भएको बताए । सबै सरुवारोग नियन्त्रणका निम्ति मन्त्रालय गम्भीर रहेको उनले उल्लेख गरे । उनले सरकारी अस्पतालको सेवा सुविधा विस्तार गर्ने, लाइन घटाउने काम भइरहेको पनि बताए ।
छलफलपछि समितिले सेवा लिने बिरामीका निम्ति सबै प्रकारका औषधि अस्पतालका फार्मेसीबाट सहजै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
आमनागरिकले सहज रूपमा सेवा पाउने अवस्था निश्चित गर्ने सम्बन्धमा विगतमा दिइएका निर्देशनको कार्यान्वयन गरी त्यसको प्रगति विवरण १० दिनभित्र समितिसमक्ष उपलब्ध गराउन भनिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
यस्तै, औषधिको गुणस्तर निश्चितताका निम्ति नियमन र दर्ता नभएका पोषण परिपूरकको जथाभावी बिक्री–वितरण रोक्न समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्