काठमाण्डौँ सहित देशभरका अधिकांश स्थानमा बिहानैदेखि वर्षा, मधेश प्रदेशमा भारी बर्षा ।
काठमाण्डौँ, काठमाण्डौँ उपत्यका सहित देशका अधिकांश भू–भागमा बिहानैदेखि भारी वर्षा भइरेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा केही स्थानमा भारी वर्षा भइरहेको हो ।
वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
पर्साको रङ्गापुर, टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगंज र आसपास भारी वर्षा भएको छ । मकवानपुरको हात्तीसुडे, भोर्लेनी, रौतहटको चन्द्रपुर, गरुडा, सर्लाहीको मानुसमारा, सिन्धुलीको कुसुमटार, रानीचुरी वर्षामापन केन्द्रहरू र आसपासमा भारी वर्षा भएको छ ।
बषौ थप हुनसक्ने भएकाले उक्त क्षेत्र भएर बग्ने दुधौरा, पसाहालगायत साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बिहान १० बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उता, कैलालीको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा रहनुहुनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले राति कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ रहेको पनि विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्