२०८२ बैशाख १५

रक्षामन्त्री मानवीर राई बाढीग्रस्त थामे गाउँ पुगे ।

काठमाण्डौँ, रक्षामन्त्री मानविर राईसहित विपद् व्यवस्थापन समितिको टोली शनिबार नेपाली सेनाको हेलिकप्टरबाट सोलुखुम्बुको थामे पुगेका छन् ।
बाढी प्रभावित थामेको स्थलगत निरीक्षणका लागि रक्षामन्त्री राईसहित सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल र जिल्लाका सांसदहरू थामे पुगेका हुन्।
शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा माथिल्लो र सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प भएको बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००÷१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसकारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ।
थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ ।
बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको छ । बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो ।
नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धारगरी आर्मीक्याम पछाडिको घरमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।