आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षाको सम्भावना ।
काठमाण्डौँ, आज वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाण्डौँ लगायत कोसी र वाग्मती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार कोसी, मधेस र वाग्मती प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
राति देशभर साधारणतया बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्