२०८१ आश्विन २०

पहिरोमा पुरीएर रामेछापमा तीन किशोरीको मृत्यु ।

रामेछाप, रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको पहिरे भन्ने स्थानमा बिहिबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ ।
घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका १७ बर्षकी सिता तामाङ्ग, १४ बर्षकी आसिका तामाङ्ग र १३ बर्षकी लक्ष्मी तामाङ्गको मृतयु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
स्थानीय गोपी तामाङ्गका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको हो । घट्ना लगत्तै स्थानीयहरु जम्मा भएर उद्धारमा जुटेका थिए ।
पहिरोले घर पुरिएको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको उद्धार टोली गाउँतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिए ।
घट्नास्थलतर्फ गएको उद्धार टोलीलाई खिम्ति नजिकैको छत्तिवने खोलामा आएको बाढीले रोकेर घट्नास्थलसम्म जान कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक प्रदिप कुमार सिंहले बताए । घट्नास्थलमा बेताली प्रहरी चौकीका प्रहरी उद्धारमा पुगेका छन् ।