२०८१ मंसिर २९

रथी सिग्देल प्रधानसेनापति बन्ने पक्का, उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति ।

काठमाण्डौँ, नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति)का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ ।
सैनिक मुख्यालय जंगी अड्डामा भएको पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममितिसम्बन्धी विवरणमा आशंका गर्ने ठाउँ नरहेको बताए ।
रथी सिग्देलले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पहिलोपटक लिएको नागरिकता र ‘जाजरकोटाबाट लिएको प्रथम प्रतिलिपी’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा कुनै फरक नरहेको उनले स्पष्ट पारे ।


रथी सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी)को प्रमाणपत्र (२०४० भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट जारी)मा जन्ममिति २०२३ माघ १९ उल्लेख छ । यस्तै, विसं २०४३ भदौ १२ गते तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय)बाट जारी भएको प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख रहेको सेनाले जनाएको छ । रथी सिग्देलले नेपाली सेनामा भर्ना हुँदा सोही नागरिकता र प्रमाणपत्र पेस गरेको सहायक रथी केसीले जानकारी दिए ।
नागरिकता प्रमाणपत्रमा उल्लेख उमेर (वर्ष) र शैक्षिक प्रमाणपत्रमा उल्लेख जन्ममितिमध्ये कुनलाई मान्यता दिने भन्नेसम्बन्धी छुट्टै कानुनी व्यवस्था रहेको उनले जानकारी गराए । “कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति, महिना र साल खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लेखित जन्ममितिको बीचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्ने“ व्यवस्था रहेको उनले स्पष्ट पारे ।
गत मंसिर महिनामा नेपाली सेना, रक्षा मन्त्रालयलगायत तहतगरूपमा नागरिकतालगायत विभिन्न शैक्षिक प्रमाणपत्र रुजु गरेर उनलाई नेपाल सरकारले पदोन्नति गरेको प्रवक्ता केसीले जानकारी दिए ।