बढी, पहिरो र डुबानका कारण १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध ।
काठमाण्डौँ, भारी वर्षापछि बाढीपहिरा लगायतका कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
सोमवार साँझ ६ बजेसम्मको विवरण अनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फीसडक सञ्चालनमा ल्याइएको छ । सडकको पहिरो पन्छाएर तथा क्षतीग्रस्त बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द छ ।
यस्तै, रोल्पाको सहिद राजमार्ग, रिडि–बाग्लुङ सडकखण्ड, स्याउलीवास–बाग्दुम्ला, चामे–बेँसीशहर लगायतका सडकखण्ड अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै संखुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ ।
पहिराका कारण अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्ण रुपमा अवरुद्ध रहेकामा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा प्रकृतिक विपद्बाट प्रत्यक्ष असर पुगेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा पहिरोले अवरुद्ध सडक सशस्त्र प्रहरीले पुनःसञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस्