आजदेखि बिहिबारसम्म मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह ।
काठमाण्डौँ, मौसम पूर्वानुमान महाशाखाले आजदेखि चार दिनसम्म मनसुन थप सक्रिय हुने जनाएको छ ।
आइतबार साँझ एक विशेष बुलेटिनमार्फत महाशाखाले आज (सोमबार) देखि मनसुन थप सक्रिय हुने भएकाले आगामी बिहीबारसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार सोमबारदेखि बिहीबारसम्म देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
साथै, कोसी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले कोसीका १३, वाग्मतीका चार, गण्डकीका आठ र लुम्बिनीका ९ गरी कुल ३४ जिल्लालाई वर्षाको उच्च जोखिममा राखेको छ ।
महाशाखाले सोमबारदेखि बिहीबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यसैगरी, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्