आजदेखि मेलम्ची खानेपानी बन्द, धाप ड्यामको पानी वितरण गर्ने ।

काठमाण्डौँ , आजदेखि मेलम्ची खानेपानी विकास समितिले सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ ।
बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिने समितिले जनाएको हो ।
उपत्यकावासीले आज देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ ।
मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ ।
समितिका कार्यकारी निर्देशक लामिछाने वर्षा हुन थालेसँगै नदीमा पानीको बहाव बढेकाले आयोजनालाई बाढीको जोखिमबाट बचाउन बन्द गर्नुपर्ने जानकारी दिए । “यसअघि खासै ठूलो वर्षा भएको थिएन । वर्षा नहुञ्जेल उपत्यकावासीलाई खानेपानीको उपलब्धता गराउन बन्द गरेनौँ”, उनले भने, ।
बढी वर्षा भएमा मेलम्ची नदी धमिलो हुँदा आयोजनामा लेदो पस्न सक्ने खतराबाट जोगाउन बन्द गर्नुपर्ने बाध्यता आएको लामिछानेको भनाइ छ । परामर्शदाता र एसियाली विकास बैंकले (एडिबी)ले मनसुनजन्य विपत्तिबाट आयोजनामा पुग्न सक्ने सम्भावित क्षति कम गर्न मेलम्ची बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।
दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ ।
दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो । मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनःवितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो ।
धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी वितरण
मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको विकास समितिका कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्