काठमाण्डौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने ।
काठमाण्डौँ, काठमाण्डौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको भएतापनि स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण काठमाण्डौँ उपत्यकामा मनसुन शुरु हुन केहीदिन लाग्ने विभागले जनाएको छ ।
काठमाण्डौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । काठमाण्डौँ उपत्यकाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान विभागको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक मौसम सफा रहने जनाएकोे छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्