२०८१ श्रावण १२

गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार : राजिव गुरुङ (दिपक मनाङे) छैटौं पठक मन्त्री बने ।

काठमाण्डौँ, मनाङ १ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेद्वार राजिव गुरुङ (दिपक मनाङे) छैटौं पठक गण्डकी प्रदेशको मन्त्री भएका छन् ।
मंगलबार गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएसंगै नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेललाई विश्वासको मत दिएका थिए । माओवादी चुनाव चिह्नबाट चुनाव लडेर जितेका देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका हुन् ।
६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पुर्याउने बताउँदै आएका मनाङका स्वतन्त्र सांसद मनाङेलाई मुख्यमन्त्री पाण्डेले नै दोस्रो पटक भौतिक मन्त्री बनाएका हुन् । माओवादीले समर्थन फिर्ता लिएपछि सत्ता आफ्नो पक्षमा पार्ने रणनीति अनुसारै मनाङेलाई गत वैशाख ५ गते सुरेन्द्रराजले भौतिक भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएका थिए ।
सर्वोच्च अदालतले ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएपछि नेपाली काँग्रेसका नेता पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसअघि उनलाई हटाउँदै नेकपा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए । अधिकारीले सभामुखकोसमेत मत प्रयोग गरेर मुख्यमन्त्री नियुक्त भए पनि सर्वोच्चले बदर गरिदिएको थियो ।