२०८१ माघ १०

तराईका क्षेत्रमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना ।

काठमाडौं । तराईका भूभागहरूमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा जेठ २६ देखि २८ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।
तातो हावा तथा तातो लहरका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्तालगायत समस्या हुन सक्ने महाशाखाले जनाएको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा झोलपदार्थ प्रशस्त मात्रामा पिउन महाशाखाको सुझाव छ । स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह–सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ ।