२०८१ चैत्र १२

प्रधानमन्त्री दाहाललाई राष्ट्रसंघको निम्तो ।

काठमाण्डौँ, संयुक्त राष्ट्रसघका महासचिव एन्टिनियो गुटरेसले आगामी सेप्टेम्बरमा हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरेका छन् ।
नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री दाहाललाई भेट गरी बिहीबार महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी हुन् ।
प्रधानमन्त्री दाहालले राष्ट्रसघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोमा आभार व्यक्त गरे । उनले राष्ट्रसघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको पनि बताए ।
राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरले संयुक्त राष्ट्रसंघको विश्वशान्ति अभियानमा नेपालले महत्त्वपूर्ण सहयोग गर्दै आएको बताइन् । उनले पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा नेपालको सहभागिता आवश्यक रहेको बताइन् ।
संयुक्त राष्ट्रसंघको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ का दिन न्युयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको छ । त्यसमा जलवायु परिवर्तन लगायत दिगो विकास लक्ष्य प्राप्तिका विषयमा छलफल हुनेछ ।