सफा हिमाल अभियान–२०२४ सम्पन्न, ११ टन फोहोर, चारवटा मानव शव र एउटा अस्थिपञ्जर संकलन ।

काठमाडौं । नेपाली सेनाले सफा हिमाल अभियान–२०२४ अन्तर्गत ११ टन फोहोर, चारवटा मानव शव र एउटा अस्थिपञ्जर संकलन गरिएको जनाएको छ ।
बुधबार नेपाली सेनाले काठमाडौंमा सफा हिमाल अभियान–२०२४ समापन समारोहको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।
समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकूल मौसम तथा विषम परिस्थितिका बाबजुद ५५ दिनसम्म अभियान सञ्चालन गरिएको जानकारी दिए ।
उनले अभियानको सञ्चालनपूर्व र सञ्चालनपछि भएका केही उपलब्धिहरूले अन्तर्राष्ट्रियरूपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिबद्धताप्रति पनि इंगित गरेको बताए ।
प्रधानसेनापति शर्माले झन्डै एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताए । प्राकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको उनको भनाइ छ ।
सफा हिमाल अभियानले आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुन सक्ने विपद् तथा अन्य अवस्थामा परिचालन हुनुपरे नेपाली सेनालाई तालिम पनि दिएको उनले बताए । प्रधानसेनापति शर्माले धेरैजसो हिमालहरू अहिले पग्लिने चरणमा रहेको पनि बताए ।
नेपाली सेनाले गएको चैत २९ गतेदेखि अभियानको चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्