सरकारी अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था

काठमाण्डौँ, सरकारले देशभरका सरकारी अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न गर्न विशेष समिति गठन गरेको छ ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।
समितिले काठमाण्डौँको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (बिर अस्पताल), त्रिभूव विस्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लगायतदेशभरका सरकारी अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ ।
समितिमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्यसचिव छन् ।
समितिले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका संघीय अस्पतालहरूको अनुगमन गर्नेछ । अनुगमनका क्रममा बिरामीहरूले शल्यक्रियाका लागि के–के कारणले लामो समयसम्म पालो कुर्नु परेको छ, प्रेषणको अवस्था, सेवाको गुणस्तर र प्रक्रिया, विशेषज्ञ चिकित्सकहरूको संख्या र उनीहरूले दिने सेवाको विवरणजस्ता विषयवस्तुको अध्ययन गरिनेछ ।
साथै समितिले अस्पतालबाट प्रदान गरिने बहिरंग (ओपीडी) सेवाको विस्तृत अध्ययन गर्नेछ । ओपीडी सेवा हेर्ने चिकित्सकको संख्या, उनीहरूले दैनिकरूपमा हेर्ने बिरामीको संख्या, प्रेषणको अवस्था, प्रयोगशाला र रेडियोलोजी सेवाको विस्तृत विवरण तथा सोही सेवाका लागि अन्यत्र रेफर गरिएका बिरामीको विवरण पनि संकलन गर्नेछ ।
समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्