२०८१ आश्विन २०

सरकारको स्वास्थ्य बिमा कार्यक्रम बिस्तार, निजी मेडिकल कलेजमा पनि स्वास्थ्य बीमा लागू ।

काठमाण्डौँ, सरकारको स्वास्थ्य बीमा कार्यक्रम १० वटा निजी मेडिकल कलेजमा लागू हुने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई आगामी आर्थिक वर्षबाट लागू हुने गरी बीमा कार्यक्रम सञ्चालन स्वीकृति दिएको हो ।
काठमाण्डौँ उपत्यकाका चार र बाहिरका ६ वटा निजी मेडिकल कलेजमा आगामी श्रावन १ सरकारका स्वास्थ्य बिमा कार्यक्रम लागु हुने बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बताए ।
बीमा कार्यक्रममा सूचीकृत भएका अस्पतालहरूमा काठमाण्डौँ मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाण्डौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल, सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को छन् ।
यस्तै, स्वास्थ्य बीमा कार्यक्रमका लागि सूचीकृत भएका उपत्यका बाहिरका मेडिकल कलेजहरूमा बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रूपन्देही र नेपालगञ्ज मेडिकल कलेज बाँके रहेका छन् ।
विर्ताज्योति आइकेयर प्रालि, झापा र दृष्टि आई अस्पताल, पोखरामा पनि स्वास्थ्य बीमा लागू हुनेछ ।
निजी अस्पताल तथा मेडिकल कलेजमा बेथिति बढ्दै गएको गुनासो आएपछि बीमा बोर्डले पछिल्लो समय कार्यक्रम बन्द गरेको थियो । सरकारी अस्पतालले बीमा सेवा धान्न नसकेका अवस्थामा मात्रै वरपरका निजी अस्पताललाई समेट्ने रणनीति लिएको थियो ।
हालसम्म ४७२ वटा सेवा प्रदाय स्वास्थ्य संस्थासँग बीमा कार्यक्रम सम्झौता भएको बोर्डले जनाएको छ ।