२०८१ श्रावण १२

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सडक भासिँदा राजमार्ग अवरुद्ध ।

काठमाण्डौँ, पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको वर्षाका कारणका गैँडाकोट–९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको उनले बताए ।
यसैबीच, भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् ।
ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किदा यात्रु घाइते भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उनले बताए ।