रेमल चक्रवातबाट नेपालका चार प्रदेशमा प्रभाव पार्न सक्ने ।
काठमाण्डौँ, भारतको बंगालको खाडीमा विकसित शक्तिशाली ‘रेमल’ चक्रवातबाट नेपालका चार प्रदेशमा प्रभाव पार्न सक्ने भएकाले सकर्त रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले नेपालमा ’रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि अप्रत्यक्ष प्रभावबाट आज (सोमबार) र भोली (मंगलबार) कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णरूपमा बदली रहने जनाएको छ ।
कोसी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ र मधेस प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी वाग्मती प्रदेशको थोरै स्थानहरू मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली शनिबार साँझ चक्रवातमा परिणत भएर अहिले शक्तिशाली चक्रवातको रूपमा रहेको छ । उक्त चक्रवात भारतको पश्चिम बंगाल तथा बंगलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढदै पूर्व नेपालबाट प्रवेश गरीसको पनि महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्