भियतनामको अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ६ घाइते ।
काठमाण्डौँ, भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म दमकल त्यहाँ पुग्न नसकेपछि अग्निनियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
भियतनामी समाचार एजेन्सीका अनुसार राति करिब १२ः३० मा आगो लागेको थियो र विस्फोटको आवाज पनि सुनिएको थियो । आगो निभाउन एक घण्टा लागेको थियो ।
आगलागीको समयमा उक्त भवनमा मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्ने गरी २४ जना रहेको सञ्चारमाध्यमले बताएको छ । घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको हनोई ट्रान्सपोर्ट अस्पतालमा उपचार भइरहेको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार विद्युतीय बाइकको बिक्री र मर्मत गर्नका लागि ग्यारेजका रूपमा प्रयोग गरिएको भवन नजिकैको सानो आँगनमा आगो लागेको थियो । मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप एक हजार ९६२ डलर र घाइतेलाई एक हजार १७७ डलर दिने अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्