२०८१ आश्विन २०

काठमाण्डौँ उपत्यका, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा बिहानैदेखि वर्षा ।

काठमाण्डौँ, काठमाण्डौँ उपत्यकाका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा सुरु भएको हो ।
काठमाण्डौँ उपत्यकासँगै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको पनि विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ ।
विभागले आज राति गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।