राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उभौली पर्वको अवसरमा शुभकामना ब्यक्त ।
काठमाण्डौँ, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उभौलीको शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
जाडो यामको अन्त्य र गर्मी यामको सुरुवातसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वको रूपमा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्नुका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा–मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।
किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन् । यस प्रकारको साँस्कृतिक पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पु¥याउँछ भन्ने विश्वास लिएको सन्देशमा उल्लेख छ ।
उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यवद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक ,सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्