बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै ।
काठमाण्डौँ, सरकारले पोलियो विरुद्धको खोप लगाउन छुटेका १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिका लागि लक्षित गर्दै पुनः खोप लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको जानकारी दिए । खोप अभियान जेठ १३ गते देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । सोही समयमा जन्मिएको बेलामा विश्व बजार मानै आई पी भी खोप अभाव भएको उनले बताए ।
खोप लगाउन छुटेका बालबालिका पोलियो रोग लाग्ने उच्च जोखिममा रहेकाले खोप अभियान सुरु गरेको उहाँले जिकिर गरे । ‘यो अभियानको लक्ष्य आई पी भी खोप आपूर्ति नभएको अवधिमा यो खोप लगाउन छुट भएका बालबालिकालाई एक मात्रा आईपिभी खोप दिएर ती बालबालिकालाई पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता बढाउने रहेको छ।’
नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रूपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एसियाली मुलुकहरू पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियोका रोगीहरु देखिएका कारण नेपालमा जोखिम कायमै रहेकोले खोप अभियान सञ्चालन गर्न लागेको हो ।
नेपालमा पोलियाका बिरामी पछिल्लो पटक २०६७ मा असोज १४ गते देखिए यता नेपालमा पोलियाका बिरामी भेटिएका छैनन् । गौतमका अनुसार ओपिभि खोप नियमित खोप सेवाको माध्यमबाट छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनु पर्ने हुन्छ । यस्तै आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरमा लगाउन पर्दछ ।
प्रतिक्रिया दिनुहोस्