२०८१ जेष्ठ ३

अष्ट्रेलियामा महिलामाथि शृंखलाबद्ध आक्रमण, राष्ट्रिय आपतकाल घोषणाको माग ।

काठमाण्डौ, अष्ट्रेलियामा शृंखलाबद्ध महिलामाथि हिंसा बढ्दै गएपछि देशभर प्रदर्शन भएको छ । प्रदर्शनकारीले लिंगमा आधारित हिंसाविरुद्धमा राष्ट्रिय आपतकालको घोषणा गरिनुपर्ने र यस्ता गतिविधि रोक्नको लागि कडा कानुन ल्याउनुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो मुद्दालाई राष्ट्रिय संकटको विषय भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रम आयोजक मार्टिना फेरेराले सरकारले यो मामिलालाई आपतकालीन अवस्थाको रूपमा बुझेर तत्काल कदम चाल्नुपर्ने बताइन् ।

राजधानी क्यानबेरामा प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानीले सबै तहबाट यसका लागि सहगोग गर्नुपर्ने अवस्था देखिएको बताए । पछिल्ला दिनमा अष्ट्रेलियामा महिलामाथि आक्रमणका घटना बढ्दै गइरहेको पाइएको छ । महिलाको हत्याका कारणले पनि यो मुद्दालाई सतहमा ल्याइदिएको छ । यो महिनाको सुरूमा सिड्नी सपिङ सेन्टरमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ६ जनाको मृत्यु भएको थियो । तीमध्ये ५ जना महिला थिए । प्रहरीले महिलालक्षित आक्रमण भयो भनेर अनुसन्धान गरिरहेको जनाएको छ । २०२४ को सुरूको ११९ दिनमा २७ महिला मारिएको तथ्यांकमा जनाइएको छ ।