२०८१ जेष्ठ ३

नेपाली सेनाद्वारा निर्मित बेलिबृज सञ्चालनमा, उत्तरी धादिङवासी हर्षित ।

काठमाण्डौँ, धादिङ जिल्लाको खनियावास र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिबृज सञ्चालनमा आएको छ ।
नवनिर्मित बेलीबृजको लम्बाई ४२.६७ मिटर, चौडाइ ४.२ मिटर तथा अधिकतम भार वहन क्षमता ३० टन रहेको छ । प्रतिनिधि सभा सदस्य माननीय श्री रामनाथ अधिकारी तथा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले संयुक्त रूपमा उदघाटन गरेपछि पुल सञ्चालनमा आएको हो ।


धादिङको खनियावास गाउँपालिका र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा पक्की पुल नभएको कारण वर्षायाममा जिल्लाको उत्तरी क्षेत्रका रुवी भ्याली, गंगा जमुना, खनियावास र नेत्रावत्री दवजोङ्ग गाउँपालिकाहरुमा आवतजावतमा कठिनाइ रहेकोले नुवाकोटस्थित त्रिशूली हाइड्रोपावरद्वारा निर्मित र हाल प्रयोग विहीन बेलिबृजलाई नेपाली सेनाले उक्त स्थानमा जडान गरेको हो । पुल निर्माणसँगै करिव ६० हजार स्थानीय लाभान्वित हुनेछन् ।
उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय माननीय श्री बुद्धिमान तामाङ्ग र माननीय श्री बिना लामा, प्रदेश सभा सदस्यद्वय माननीय श्री डम्बर बहादुर तामाङ्ग र माननीय श्री गोविन्द बहादुर लम्साल, पूर्व राज्य मन्त्री श्री दिलमान पाख्रिन, जनप्रतिनिधिहरू, नेपाली सेनाका रथीवृन्द, अधिकृत, सञ्चारकर्मीहरु लगायत उल्लेख्य सङ्ख्यामा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।