२०८१ बैशाख २९

तराईमा अझै पाँच दिन तातो लहरको सम्भावना, अत्यधिक गर्मीले जनजिवन प्रभावित ।

काठमाण्डौँ, तराई भूभागमा अझै पाँच दिन तातो लहर र अत्यधिक गर्मीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।
तराईका भूभागहरूमा आगामी पाँच दिन (२०८१ वैशाख १६ गतेदेखि २०८१ वैशाख २० गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउनहुन विभागले अनुरोध समेत गरेको छ ।
पहाडी भूभागका उपत्यका र खोचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले यसअघि तातो हावा तथा तातो लहरसम्बन्धी पाँचदिने विशेष बुलेटिन जारी गरेको थियो । त्यसको अवधि सकिएसँगै अर्को विशेष बुलेटिन जारी गरेको हो ।
“तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध बुलेटिनमा गरिएको छ ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरबाट जोगिन विभिन्न उपाय अपनाउन समेत महाशाखाले सुझाव दिएको छ ।