२०८१ श्रावण १२

बेँसीसहरबाट खुदीसम्मको सडक कालोपत्रे, खुदीबाट चामेसम्मको सडकको स्तरोन्नती कार्य शुरु हुने ।

काठमाण्डौँ, मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक खण्डम अन्र्तगत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो ।
पाँच दशमलव पाँच मिटरमा सवारीसाधन सञ्चालन हुने, एक दशमलव एक मिटर पानीको निकास र पैदलयात्री मार्ग एक मिटर चौडा छ । कुल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता भएको थियो ।
बेँसीसहरबाट खुदीसम्म करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित तीन सय मिटर लामो खरखरेभिरका लागि सो रकमबाहेक बोलपत्र आह्वान गरेर २० करोड लागत अनुमान गरेकामा १६ करोड र सोही स्थान नजिक एक सय २० मिटरको करिब चार करोडमा पुल तथा बाटो निर्माण भइरहेको छ ।
पैसठ्ठी किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर छ । खुदीसम्म कालोपत्र भए पनि खुदीबाट चामेसम्मको अधिकांश भाग जीर्ण छ । सो बाटोको स्तर उन्नतीका काम चाँडै हुने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय बेसिशहरले जनाएको छ ।