२०८१ श्रावण १२

मन्त्री राजीव गुरुङद्धारा यातायात व्यवस्था कार्यालयको अनुगमन ।

काठमाण्डौँ, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले यातायात व्यवस्था कार्यालय कास्कीको अनुगमन गरेका छन् ।
सेवाग्राहीबाट गुनासो आएपछि मन्त्री मनाङेले सोमबार यातायात कार्यालयको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री मनाङेले कार्यालयबाट प्रदान गरिने सेवालाई छिटोछरितो बनाउन निर्देशन दिएका छन् ।
मन्त्री गुरुङले कार्यालयबाट प्रदान गरिने सेवालाई अनलाइनबाट पाउने व्यवस्था गर्नसमेत निर्देशन दिए । यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले केन्द्रीय हस्तक्षेपले प्रदेशमा अनलाइन सेवा दिन नसकिएको पनि गुनासो गरे ।
मन्त्री मनाङेले अनलाइन सेवा सुचारु गर्न आइपरेको समस्याका बारेमा संघीय सरकरसंग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कर्मचारीको विषय धेरै गुनासा आएकाले त्यसलाई व्यवस्थापन गर्न हरेक घन्टा हाजिर गर्ने व्यवस्था सुरु गर्न निर्देशन समेत दिए ।