२०८१ श्रावण १२

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कनु : नेपाली दुतावास , इजरायल

काठमाण्डौँ, इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।
आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी इजरायलमा हेका नेपालीहरुले स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो ।
इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी गरेको छ । ‘आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं, दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।
सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।
यसअघि प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन् ।