२०८१ बैशाख १८

नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा सञ्चालन हुने ।

काठमाण्डौँ,  नयाँ वर्ष २०८१ अर्थात बैशाख १ गतेबाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।
ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए । नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नेछन् ।
सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौँ)ले लिनेछ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन व्यवसाय वैशाख १ गतेदेखि लागू हुने गरी सुरक्षा तयारी गरिएको बताए । पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको जानकारी दिए । चैत ३० गते जिल्ला सुरक्षा समितिको बैठकले उक्त मापदण्ड पारित गरेपछि लागू हुनेछ ।
ठमेलमा अहिले बिहान ४ बजेसम्म क्लब खुल्छन् । रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन् ।
परिषद्का अध्यक्ष शर्माले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सैँ घण्टा रात्रिकालीन व्यवसाय खुला गरिने बताए । ठमेलको सातघुम्ती, चाक्सीबारी, च्याठाः सोह्रखुट्टे क्षेत्र खुला गरिनेछ ।